अछाममा ‘विश्वव्यापी भोकमरी सूचकांक–२०२६’ प्रतिवेदन सार्वजनिक

अछाम । अछाममा ‘विश्वव्यापी भोकमरी सूचकांक–२०२६’ प्रतिवेदन सार्वजनिक गरिएको छ। अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य भरतकुमार स्वाँरले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो।

पिसविन नेपाल, समविकास नेपाल र वाक नेपालको संयुक्त आयोजनामा ‘खाद्य सुरक्षाविना सुरक्षा सम्भव छैन’ भन्ने नारासहित साँफेबगरमा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा सांसद स्वाँरले अछामका गाउँबस्ती क्रमशः खाली हुँदै जानु र खेतीयोग्य जमिन बाँझो रहँदै जानु खाद्य सुरक्षाका लागि गम्भीर चुनौती बनेको बताउनुभयो। विगतमा स्थानीय बासिन्दाले आफ्नै खेतबारीमा उत्पादन गरेर खाने गरे पनि अहिले गाउँमा मानिसको बसोबास घट्दै जाँदा खेतीपाती गर्ने क्रमसमेत घटेको उहाँको भनाई थियो।

उहाँले आफ्नै खेतबारीमा उत्पादन गर्नुभन्दा बजारबाट किनेर खाने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले स्थानीय उत्पादन र आत्मनिर्भरतालाई कमजोर बनाएको बताउनुभयो। आफ्नै जमिनको सदुपयोग गरी कृषि उत्पादन बढाउन र स्थानीय उत्पादनमा जोड दिनुपर्ने उहाँको धारणा थियो।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बालबालिकाको पोषण सुधार र खाद्य सुरक्षाका लागि स्थानीय सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले साँफेबगर नगरपालिकाले पोषणसम्बन्धी समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

नगरपालिकाले स्थानीयस्तरमा उत्पादित खाद्यवस्तुलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको पोषण अवस्था सुधार गर्न स्थानीय तह, स्वास्थ्य संस्था, गैरसरकारी संस्था तथा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । 

जिल्ला समन्वय समितिका उपप्रमुख दानमती शाहीले बालबालिकाको पोषण अवस्था सुधार गर्न गर्भवती तथा सुत्केरी महिलाको पोषण, बालबालिकालाई पर्याप्त तथा सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षण, सरसफाइ र पोषणसम्बन्धी जनचेतनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

मंगलसेन नगरपालिकाका उपप्रमुख सङ्गीता रावल सोडारीले महिला तथा बालबालिकाको पोषण अवस्था सुधारका लागि जनचेतना, स्वास्थ्य सेवा र पोषणयुक्त खानाको पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो । 

बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बालबालिकाको पोषण सुधारलाई परिवार र समुदायस्तरबाटै अभियानका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । 

त्यस्तै, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले खाद्य सुरक्षा र पोषण सुधारका लागि स्थानीय तहले लक्षित कार्यक्रम सञ्चालन गर्नुका साथै तिनको प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा (डब्लुएचएच) का पोषण विज्ञ विकास देउजाले सुदूरपश्चिम प्रदेशमा भोकमरी सूचकांकको अवस्था, बालबालिकाको पोषणसम्बन्धी चुनौती तथा सुधारका सम्भावनाबारे जानकारी गराउनुभयो ।
विश्व भोकमरी सूचकांक २०२६ को तथ्यांकअनुसार अछाममा पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपन दर ३०.१ प्रतिशत रहेको पोषण विज्ञ देउजाले जानकारी दिनुभयो । यो सुदूरपश्चिम प्रदेशको औसत दर २५.३ प्रतिशतभन्दा ४.८ प्रतिशत विन्दुले बढी हो । 
त्यस्तै, अछाममा बालबालिकाको ख्याउटेपन दर १३.५ प्रतिशत रहेको छ भने प्रदेशको औसत दर १४.९ प्रतिशत रहेको छ। यसले अछाममा पुड्कोपनको समस्या प्रदेशको औसतभन्दा बढी भए पनि ख्याउटेपनको दर प्रदेशको औसतभन्दा कम रहेको उहाँले जानकारी गराउनुभयो । 
 
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा बालबालिकाको ख्याउटेपनको अवस्था पनि फरक–फरक देखिएको छ। कृषि ज्ञान केन्द्र अछामका प्रमुख जनक बोहराले प्रस्तुत गरेको प्रतिवेदनअनुसार कञ्चनपुरमा सबैभन्दा बढी १७.८ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको छ।

त्यस्तै, कैलालीमा १७.१ प्रतिशत, डोटीमा १४.९ प्रतिशत, डडेल्धुरामा १४.३ प्रतिशत, अछाममा १३.५ प्रतिशत र दार्चुलामा १२.९ प्रतिशत ख्याउटेपन रहेको छ। त्यसैगरी, बाजुरामा ११.८ प्रतिशत, बैतडीमा ९.२ प्रतिशत र बझाङमा ८.५ प्रतिशत बालबालिकामा ख्याउटेपन देखिएको छ।

सुदूरपश्चिमका जिल्लामा बालबालिकाको पोषण अवस्था सुधार गर्न स्थानीय कृषि उत्पादनमा वृद्धि, पोषणयुक्त खानाको उपलब्धता, मातृ तथा शिशु स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।
 

प्रतिकृया दिनुहोस

वान्नीगढी जयगढ गाउँपालिकाको ७४ प्रतिशत बजेट खर्च, ८२ योजना सम्पन्न

कात्तिक १५ अछाम अछामको वान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा कुल बजेटको ७४ दशमलव १७ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले सार्वजनिक

लोक सेवा पढ्न सुर्खेत पुगेका अछामका युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर

चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड

असोज २५ अछाम चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी

↑