चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर
चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ। तर अहिले अवस्था फेरिएको उहाँको अनुभव छ। प्लास्टिकले वातावरण, मानव स्वास्थ्य र पशुचौपायामा पार्ने नकारात्मक असरबारे जानकारी बढ्दै गएपछि स्थानीयले यसको प्रयोग घटाउँदै परम्परागत रूपमा प्रयोग हुँदै आएका झोरो, पातिका डाँठ तथा अन्य वातावरणमैत्री सामग्री प्रयोग गर्न थालेका छन् ।  घर–घरमा फोहोर व्यवस्थापनका लागि खाल्डा निर्माण गरिनुका साथै जैविक र अजैविक फोहोर छुट्याएर व्यवस्थापन गर्ने अभ्यास पनि विस्तार हुँदै गएको छ।
 यही परिवर्तनलाई थप संस्थागत र दिगो बनाउन सम विकास नेपालको साझेदारीमा सञ्चालित ‘पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशील कृषि प्रणालीमा महिला सहभागिता’ परियोजनाको सहयोग तथा वडा कार्यालयको समन्वयमा ‘प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षण’ सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागी स्थानीयले अब प्लास्टिकमुक्त वडा निर्माणलाई अभियानकै रूपमा अघि बढाउने सामूहिक प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा सहभागीहरूले व्यवहार परिवर्तनबाट मात्रै वातावरण संरक्षण सम्भव हुने धारणा राखे। बजार जाँदा घरबाटै कपडाको झोला लिएर जाने, पसलहरूले पनि प्लास्टिकको झोला वितरण बन्द गर्ने, सार्वजनिक स्थानमा पर्याप्त फोहोर व्यवस्थापनका साधन राख्ने तथा गाउँपालिकाले स्पष्ट नीति र कार्यक्रम ल्याएर प्लास्टिकको प्रयोग नियन्त्रण गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका छन् । 

वडा स्तरीय महिला सञ्जालकी अध्यक्ष अमृता कुँवरले प्लास्टिकमुक्त अभियानलाई सफल बनाउन प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।  उहाँले बजारमा कपडाको झोला अनिवार्य प्रयोग गराउने व्यवस्था, राजमार्ग क्षेत्रमा फोहोर राख्ने कन्टेनर स्थापना, सार्वजनिक स्थानमा डस्टबिनको व्यवस्था तथा स्थानीय तहले स्पष्ट नीति बनाएर अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

कार्यक्रममा सहभागी शिक्षक महेश घर्तीले प्लास्टिकजन्य वस्तुको प्रयोग घटाउँदै वातावरणमैत्री जीवनशैली अपनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले वातावरण संरक्षण र प्रभावकारी फोहोर व्यवस्थापनका लागि विद्यालय, समुदाय, स्थानीय सरकार र नागरिक सबै मिलेर दीर्घकालीन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

सम विकास नेपालका सञ्चालक समिति सदस्य किथ्थी टमट्टाले प्लास्टिकजन्य फोहोर संकलन र उचित व्यवस्थापनलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले घर–घरमा पुगेर जनचेतना फैलाउने, कपडाका झोला वितरण गर्ने, वडा भित्रका सबै विद्यालयमा वातावरण शिक्षा कार्यक्रम सञ्चालन गर्ने, सरसफाइ सामग्री वितरण गर्ने तथा प्लास्टिकको विकल्पबारे नागरिकलाई जानकारी गराउने कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो । 

वडा नम्बर–७ का अध्यक्ष ललित बहादुर बोगटीले वातावरण जोगाउन प्लास्टिकजन्य सामग्रीको प्रयोग घटाउनु अपरिहार्य रहेको बताउँदै नागरिकलाई कपडाका झोला तथा अन्य वैकल्पिक सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो ।  उहाँले विर्खेमदेखि होटल पाससम्मका क्षेत्रमा फोहोर व्यवस्थापनका लागि कन्टेनर राख्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै मदिराजन्य सिसी, प्लास्टिकका बोतल र अन्य प्लास्टिकजन्य फोहोर व्यवस्थापन अहिलेको प्रमुख चुनौती भएकाले त्यससम्बन्धी विषय गाउँ कार्यपालिकामा उठाएर आवश्यक निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहभागीहरूले प्लास्टिकजन्य फोहोर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए। 
 

प्रतिकृया दिनुहोस

साँफेबगर नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

अछाम, असार ७   साँफेबगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। आइतबार बसेको नगरसभाको

चौरपाटीमा खाद्य अधिकार सञ्जाल गठन

जेठ १५ अछाम चौरपाटी गाउँपालिकामा खाद्य अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित पालिका स्तरीय खाद्य अधिकार सञ्जाल गठन गरिएको छ । पालिका स्तरीय महिला

साँफेबगरमा ‘मेयरसँग बाल संवाद’ : बालबालिकाले जनप्रतिनिधिसामु राखे बालविवाहदेखि विद्यालय पूर्वाधारसम्मका सवाल

जेठ १२ अछाम साँफेबगर नगरपालिकामा बालबालिकासँग जनप्रतिनिधिको खुला संवाद कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार, सहभागिता र सुरक्षित भविष्यका विषयमा