“विद्यालयस्तरमा महिनावारी स्वच्छता र सरसफाईमा सचेतना”

जेठ १२ अछाम
मेल्लेख गाउँपालिकाका नौ वटा सामुदायिक विद्यालयमा महिनावारी स्वच्छता तथा सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रिनतारा नेपालद्वारा सञ्चालित गरिमा परियोजनाको आयोजनामा वडा नं. १ देखि ८ सम्म रहेका ९ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
 कार्यक्रम मार्फत विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई सुरक्षित महिनावारी व्यवस्थापन, व्यक्तिगत सरसफाई तथा किशोरी स्वास्थ्यका विषयमा जानकारी गराइएको गरिमा परियोजनाका फिल्ड म्यानेजर विक्रम जोशीले जानकारी दिनुभयो । 
विद्यालयस्तरमै महिनावारीप्रति रहेको संकोच हटाउँदै सुरक्षित र सम्मानजनक वातावरण निर्माण गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले संस्थाले विद्यालयमा किशोर किशोरीमैत्री सौचालय निर्माण कार्य अन्तिम चरणमा पनि पुगाएको बताउनुभयो ।
दुर्गादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण विकले विद्यालयमा सञ्चालन भएका सरसफाई तथा महिनावारी स्वास्थ्य सम्बन्धी कार्यक्रमले विद्यार्थीमा सकारात्मक बानीको विकास हुन थालेको बताउनुभयो । उहाँले व्यक्तिगत सरसफाई र स्वास्थ्य सुरक्षाबारे विद्यार्थी थप सचेत बन्दै गएको उल्लेख गर्नुभयो ।

पिपलसैनी माध्यमिक विद्यालयका प्रधानाध्यापक नृप बहादुर बुढाले अभिमुखीकरण कार्यक्रमपछि विद्यार्थीमा महिनावारी स्वच्छता सम्बन्धी ज्ञान र आत्मविश्वास दुवै बढेको बताउनुभयो । उहाँले विद्यालयमा स्वच्छ र सुरक्षित वातावरण निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्नुभयो ।
 विद्यार्थी कृष्णा वुढाले अभिमुखीकरणबाट महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रिया भनेर बुझ्न सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । सरसफाई र स्वास्थ्य सुरक्षाका विषयमा नयाँ जानकारी प्राप्त भएको बताउनुभयो ।
अर्को विद्यार्थी विकल्प खड्काले अभिमुखीकरण कार्यक्रमबाट व्यक्तिगत सरसफाई, सफा शौचालयको प्रयोग तथा स्वास्थ्य सुरक्षाका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले विद्यालयमा सरसफाई सम्बन्धी सचेतना बढाउन यस्ता कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

संस्थाले विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गर्दै आएको जनाएको छ । संस्थाले सेनेटरी प्याड फेर्ने छुट्टै स्थान, फोहोर व्यवस्थापनका लागि डस्टबिन, हात धुने साबुन सहित सुरक्षित सरसफाईका आवश्यक सामग्री सहयोग गरेको परियोजनाका व्यवहार परिवर्तन संचार अधिकृत(दअअ) पूजा गर्तौलाले जानकारी दिनुभयो ।
   यसैगरी संस्थाले विद्यालयहरूमा बेड, कार्पेट, दराज, ऐना तथा वाटर ब्याग लगायत सामग्री पनि यस अघि सहयोगर गरेको संचार अधिकृत गर्तौलाको भनाई रहेको छ ।  यस्ता सामग्रीले किशोरीमैत्री वातावरण निर्माण गर्न र महिनावारीका समयमा विद्यार्थीलाई सहजता प्रदान गर्न सहयोग पुगेको विद्यालयहरूले बताएका छन् ।
महिनावारी विभेदको अन्त्य गरि मर्यादित महिनावारी मैत्री समाज बनाउने उद्देश्यले अछामको मेल्लेख गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिकाका पाँच वर्षका लागि गरिमा परियोजना लागू भएको छ । 
 

प्रतिकृया दिनुहोस

बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ स् शिक्षा र आयआर्जनमा जोड

अछाम भाद्र २५  वल्र्ड भिजन इन्टरनेसनल नेपाल, वाक नेपाल र आस्था नेपालको साझेदारीमा सञ्चालित ‘बाल समृद्धि तथा एकीकृत विकासका लागि हातेमालो

साँफेबगरमा महिला पैरवी समूहका लागि एकदिने कार्यशाला

साँफेबगर । करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा सञ्चालित गरिमा

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।