बाल नेतृत्वले बदल्यो जीवनशैली: छाउगोठ त्यागेदेखि बालमैत्री शासनको मागसम्म

 बालबालिकाको नेतृत्व क्षमता विकास, अर्थपूर्ण सहभागिता अभिवृद्धि तथा स्थानीय सरकारसँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले साँफेबगर नगरपालिकामा पालिका स्तरीय बाल नेतृत्व भेला सम्पन्न भएको छ।

नगरस्तरीय बाल सञ्जालको आयोजना, साँफेबगर नगरपालिकाको समन्वय तथा आस्था नेपाल र वल्र्ड भिजनको सहयोगमा आयोजित भेलामा बालबालिकाले आफ्ना अनुभव, सिकाइ र जिज्ञासा प्रस्तुत गर्दै बालअधिकार कार्यान्वयनदेखि बालमैत्री स्थानीय शासनसम्मका विषयमा जनप्रतिनिधिसँग खुलेर संवाद गरेका थिए।

भेलामा सहभागी बालबालिकाले आफ्नो हकअधिकार व्यवहारमै सुनिश्चित गर्न माग गर्दै नगरपालिकासँग प्रत्यक्ष संवाद, नियमित बालसभा तथा बालमैत्री कार्यक्रम सञ्चालन किन हुन सकेन भन्ने प्रश्न उठाएका थिए। उनीहरूले बालमैत्री स्थानीय शासनलाई कागजमा सीमित नराखी व्यवहारमा लागू गर्न आग्रह गरे।

कार्यक्रममा नगरस्तरीय बाल सञ्जालकी सदस्य पुस्तिका बुढाले नेतृत्व विकाससम्बन्धी तालिमले आफ्नो सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको अनुभव सुनाइन्। उनले यस्ता तालिमबाट छाउगोठ प्रथा त्याग्ने, महिनावारीका बेला व्यक्तिगत सरसफाइमा ध्यान दिने तथा प्रत्येक चार घण्टामा स्यानिटरी प्याड परिवर्तन गर्नुपर्ने जस्ता व्यवहारिक ज्ञान प्राप्त गरेको बताइन्। यस्ता सिकाइले किशोरीहरूमा आत्मविश्वास बढाउनुका साथै स्वास्थ्यप्रति सचेत बन्न महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

त्यस्तै, नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष जेनीशा भाटले पनि आफ्नो जीवनमा आएको परिवर्तनको अनुभव साझा गरिन्। उनले विगतमा महिनावारी भएका बेला आफूलाई छाउगोठमा बस्न बाध्य बनाइने गरेको स्मरण गर्दै सरकारी तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका तालिम र सचेतनामूलक कार्यक्रमपछि महिनावारी प्राकृतिक प्रक्रिया भएको बुझेको बताइन्। त्यसपछि आफूले छाउगोठमा बस्न अस्वीकार गरेको र सुरुमा आमालाई सम्झाउन कठिन भए पनि पछि उहाँले पनि कुरा बुझ्नुभएको जानकारी दिइन्। अहिले आफू, आफ्नी दिदीबहिनी र आमा महिनावारी भएका बेला सुरक्षित रूपमा घरमै बस्ने गरेको उनले सुनाइन्।

बालबालिकाले उठाएका सवालको जवाफ दिँदै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिवबहादुर कुँवरले भेलामा आएका सुझाव र प्रश्नलाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुभयो। उहाँले बालबालिकाको सहभागिता अभिवृद्धि तथा उनीहरूका हकअधिकारसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिँदै आगामी दिनमा बालमैत्री कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण पत्रकार **तपेन्द्र कुँवर 'खम्म खत्री'**ले गर्नुभएको थियो। भेलामा वडा नं. ४ का अध्यक्ष नवराज बुढा, वडा नं. १४ पातलकोटका वडा अध्यक्ष सन्जु थापा, नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष अप्सरा कुँवर, आस्था नेपालका भवान सिंह साक्री, गोकुल खड्का, धुव्र स्वाँर लगायत १४ वटै वडाका बालबालिकाको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

जयगढ बजार आगलागीः ७ करोड भन्दा बढी क्षति भएको आँकलन

चैत्र २७ अछाम ग्यासको सिलिण्डर पड्किएर मंगलबार बेलुकी आगलागी भएको जयगढ़ बजारमा ७ करोड भन्दा बढी क्षति भएको आँकलन गरिएको छ। जयगढ़ बजारमा रहेका २७ वटा

जनता वुहुमखी क्याम्पसको स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक

चैत ७ अछाम जनता वहुमुखी क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जनता वहुमुखी क्याम्पसका