शान्निकोटको काखमा बदलिँदै सोच ः छाउगोठबाट घरभित्रसम्मको यात्रा

अछाम जेठ २९
सुदूरपश्चिममा महिनावारीसँग जोडिएका अनेकौं अन्धविश्वास अझै समाजमा जीवित छन् । महिनावारी भएका बेला महिलाले घरभित्र बस्न नहुने, देविदेवता रिसाउने र अनिष्ट हुने जस्ता मान्यताले धेरै महिला तथा किशोरीलाई अहिले पनि छाउगोठमा बस्न बाध्य बनाइरहेका छन् । तर चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा भने यो सोच विस्तारै परिवर्तन हुँदै गएको छ।
विशेष कुरा के छ भने, मार्कु केवल एउटा गाउँ मात्र होइन । यो सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र शान्नीकोट मन्दिर रहेको क्षेत्र हो । जहाँ धार्मिक विश्वास र परम्पराको प्रभाव बलियो मानिन्छ । तर त्यही समुदायले महिनावारीलाई लिएर रहेका गलत मान्यता त्याग्दै नयाँ सोचको अभ्यास थालेको छ ।
केही वर्षअघिसम्म यहाँका महिला तथा किशोरीहरू पनि महिनावारी भएका बेला घरदेखि टाढा बनाइएका छाउगोठमा बस्ने गर्थे । तर अहिले अवस्था फेरिएको छ ।
 स्थानीय महिला सेतु बोगटीका अनुसार केही वर्षअघिसम्म महिनावारी भएका बेला महिलाहरू छाउगोठमा बस्ने प्रचलन रहेको थियो । तर जनचेतना वृद्धि र परिवारका ज्येष्ठ सदस्यहरूलाई समेत सम्झाइबुझाइ गरेपछि अहिले महिलाहरू सुरक्षित रूपमा घरमै बस्न थालेका छन्। घरमा बस्दा कुनै अनिष्ट नहुने अनुभवले समुदायमा रहेको पुरानो अन्धविश्वास क्रमशः हट्दै गएको उनको भनाइ छ।
महिनावारीका बेला घरमा बस्ने मात्र होइन, महिलाहरूले दही, मोही, घ्यू लगायतका पोषिलो खानेकुरा पनि सेवन गर्न थालेका छन् । 
  छात्रा आकृति बोगटीका अनुसार पहिले महिनावारी भएका बेला यस्ता खानेकुरा खान हुँदैन भन्ने मान्यता थियो। तर अहिले त्यस्तो विभेदकारी अभ्यास हट्दै गएको छ।
चौरपाटी गाउँपालिकाको अनुगमन टोली मार्कु पुग्दा गाउँमा कुनै पनि छाउगोठ फेला परेन। । जनचेतना र सामुदायिक पहलका कारण महिलाहरू आफैंले छाउगोठ भत्काउने अभियानमा साथ दिएको वडा अध्यक्ष ललित बोगटी बताउँछन् । 
छाउगोठमा बस्दा महिला तथा किशोरीहरू हिंसा, सर्प तथा जंगली जनावरको आक्रमण, चिसो र विभिन्न स्वास्थ्य समस्याको जोखिममा पर्ने गरेका छन । गाउँपालिकाले छाउगोठमुक्त पालिका बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको चौरपाटी गाउँपालिकाका बाल कल्याण अधिकारी मिलन कुँवर बताउनुहुन्छ । 
धार्मिक आस्थाको केन्द्र मानिने शान्नीकोटको काखमै भएको यो परिवर्तनले एउटा महत्वपूर्ण सन्देश दिएको छ—आस्था र अन्धविश्वास फरक कुरा हुन् । परम्पराको सम्मान गर्दै महिलाको स्वास्थ्य, सुरक्षा र सम्मानलाई प्राथमिकता दिन सकिन्छ भन्ने उदाहरण मार्कुले प्रस्तुत गरेको छ। 
 

प्रतिकृया दिनुहोस

चौरपाटी–७ मार्कुलाई ‘प्लास्टिक मुक्त वडा’ बनाउने सामूहिक प्रतिबद्धता

तपेन्द्र कुँवर चौरपाटी–७ की स्थानीय अनिशा देवी बोगटी केही वर्षअघिसम्म गाउँघरमा प्लास्टिक जलाउने र जथाभावी फाल्ने चलन सामान्य रहेको सम्झनुहुन्छ।

काठमाडौँमा उपचारका क्रममा चौरपाटीका युवा डिल्लीराज साउँदको मृत्यु

चौरपाटी गाउँपालिका–३ गगुडाका युवा डिल्लीराज साउँदको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। साउँद दुई दिनअघि मात्रै मोटरसाइकलमार्फत लामो यात्रा

संगठन सुदृढीकरणमा जुट्यो नेकपा अछाम, गाउँ–गाउँमा एकता अभियान

तपेन्द्र कुँवर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) अछामले पार्टी एकतालाई संगठन विस्तारसँग जोड्दै पालिकादेखि वडा तहसम्म संगठन सुदृढीकरण अभियानलाई