News & Events
जनादेश अनुरुप नेपाली कांग्रेसले तत्काल सत्ता छोड्नुपर्छ ः थापा


पौष १८, अछाम
नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाजुराबाट निर्वाचित प्रतिनिधी सभा  सदस्य लालबहादुर थापाले जनादेश अनुरुप नेपाली कांग्रेसले तत्काल सत्ता छोड्नुपर्ने बताउनुभयो । रेडियो जनप्रियसँग आज कुराकानी गर्दै थापाले जनादेशको सम्मान गर्दै तत्काल सत्ता छोड्न माग गर्नुभयो ।  देउवाले जनादेश आफ्नो पक्षमा नभएको स्वीकार गर्दै तत्काल पदबाट राजिनामा दिनुपर्ने उहाँको भनाई रहेको छ । जनमत अनुरुपको सरकार बन्न नदिने षडयन्त्र नगर्न उहाँले चेतावनी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचन पनि मै गराउँछु भन्नु, निर्वाचन आयोगलाई परिणाम घोषणाबाट रोक्नु जस्ता गतिबिधिले सत्ता लम्ब्याउने चाहना प्रष्ट भएको उहाँको भनाई छ ।
त्यसैगरी उहाँले जनप्रतिनिधिलाई समानुपातिकको प्रमाणपत्र पनि नदिने, सपथ पनि नगराएको भन्दै सरकारको आलोचना गर्नुभयो । यसैबीच नेता थापाले निर्वाचन आयोगप्रति पनि असन्तुष्टि पोख्नुभएको छ । उहाँले चुनावको परिणाम अविलम्व सार्वजनिक गर्न माग गर्नुभयो । नेपालमा स्थायित्व नहुँदा विकासले गति लिन नसकेको बताउँदै थापाले अव वामगठबन्धनको सरकारले आर्थिक समृद्धिको लागि ढोका खोल्ने पनि बताउनुभयो । उहाँले प्रदेश नं।७ को राजधानी र मुख्यमन्त्री प्रदेश सभाले टुङग्याउने बताउनुभयो । मुख्यमन्त्रीको विषयमा कुनै विवाद नरहेको बताउनुभयो । प्रदेश नं।७ को समृद्धिको लागि वामगठबन्धनले ठोस योजना ल्याएर अघि बढ्ने पनि बताउनुभयो ।