News & Events
मलद्धार नभएपछि बच्चाको पेट चिरेर ज्यान जोगाईयो


रेडियो जनप्रिय अछाम जेठ ९
        बयालपाटा अस्पतालमा मलद्धार नभएको बच्चाको पेट चिरेर ज्याँन जोगाईएको छ । बाजुरा जिल्ला काँडा गाविसकी बिमला रोकायाका भर्खरै जन्मिएका छोराको मलद्धार नभएको थाहा भएपछि बयालपाटा अस्पतालमा उपचारका लागि ल्याँउदा पेट चिरेर ज्याँन जोगाईएको हो ।  ९ दिन अघिमात्र घरमै जन्मेको बच्चाको मलद्धार नभएको कुरा ३ दिन पछि मात्रै बिमलाले थाहा पाएकी थिईन । मलद्धार नभएपछि उनले आफना श्रीमान गोरख रोकाया र सासुलाई जानकारी गराईन । ३ दिन सम्म बच्चाले आमाको दुध खाने र पिसाब गर्ने गरेको र दिसा नभएपछि उनले थाह पाएको बताएकी छन । त्यसपछि छोरा जन्मेको चौथो दिनमा उनका आफन्तले उपचारका लागी जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा लिए तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बयालपाटा अस्पताल लैजान भनेर रिफर गरिएको थियो ।

       जन्मेको तेश्रो दिनमै बयालपाटा अस्पताल पुर्याउदासम्म बच्चाले खाएको दुधले पेट फुल्दै गएकोले जन्मेको केही दिनमै शल्यक्रिया नभए बच्चाको ज्यान जाने बयालपाटा अस्पतालका मेडिकल दिर्नेशक डाक्टर सन्तोषकुमार ढुंगानाले बताउनु भयो । उहाँले भन्नुभयो यो एकदमै जटिल समस्या हो बच्चा तेश्रो दिनसम्म अस्पताल नपुगेको भए ज्यान जाने थियो । जटिल प्रकारको शल्यक्रियाका लागी नवजात शिशु बिशेषज्ञ नै आवश्यक हुन्छ तर तत्काल बिशेषज्ञ उपलब्ध नहुदाँ ज्यान जोगाउनका लागी शल्यक्रिया गरेको उहाँले बताउनु भयो । बच्चालाई बेहोस पारी पेट चिरेर ठुलो आन्द्रालाई बाहिर निकालिई त्यसलाई खोलेर दिसा आउने ठाँउ बनाईएको समेत उहाँले बताउनु भयो । तर यो दिर्घकालिन समाधान नभएकोले बच्चालाई बिशेषज्ञ भएको ठाँउमै पुर्याउनु पर्ने डाक्टर ढुंगानाले बताँउनुभयो । आफुहरुले सुरुमै बच्चलाई बिशेषज्ञकहाँ लैजान भनेको तर आफन्तले नमानेपछि बच्चाको ज्यान जोगाउन अप्रेशन गर्नुपरेको ढुंगानाको भनाई छ । यहाँ गरेको अप्रेसन बच्चा बाँच्नका लागी र जटिल खालको अप्रेशनको तयारी तथा बाहिर लैजान सयम दिएको निर्देशक ढुंगानाले बताउनु भयो । अबको केहि दिनमै बच्चाको जटिल खालको अप्रेसन गर्नुपर्ने समेत उहाँको भनाई छ ।

       अहिले बच्चाले आमाको दुध खाईरहेको, दिसा पनि गरिरहेको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको बताईएको छ । सम्पूर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गरिरहेको बयालपाटा अस्पतालले यस्तो खालको जटिल सल्यक्रिया पनि सहज रुपमा गर्न सकेको प्रति स्वास्थ्यकर्मीहरु खुसी छन । छिटफुट मात्रमा यस्ताखालका समस्या आउने गरेका अस्पतालले जनाएको छ ।