News & Events
अछाममा पनि मनाईयो ईद उल फित्र
होम साउद अछाम २३ असार
 
इस्लाम धर्मावलम्बीहरु (मुस्लिम समुदाय) ले अछाममा पनि बिहीबार आज इद (इद उल फित्र) मनाएका छन् । मुस्लिम परम्परा अनुसार एक महिना रोजा (व्रत) सकिएपछि मनाउने यो पर्व अछाममा रहेका मुस्लिम समुदायले पनि मनाएका हन । 

मंगलसेन स्थित अहले सुन्नत मदरसामा मदरसा कमिटीको आयोजनामा पर्व मनाईएको हो । मंगलसैनमा ब्यापार ब्यावसाय गर्दै आईरहेका  झण्डै ५० जना मुस्लिम धर्मावलम्विहरुले इदको नमाज पढेपछि शुभकामना आदान, प्रदान गर्दै खुसियाली मनाएका थिए । इद खुसी साट्ने पर्व भएको र तीन दिनसम्म मनाउने गरेको बताँउदै मदरसा कमिटीका अध्यक्ष मकवुल अलिले भने “एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन मुस्लिम समुदायमा छ, मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएको खुला ठाउँ) मा भेला भएर इदको नमाज पढ्ने चलन भएपनि हामिले यहाँ अस्थाई मस्जिद बनाएर इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गर्यौं ।” 

ब्यापार ब्यावसायको सिलसिलामा अछामका बिभिन्न बजारहरुमा छरिएर रहेका मुस्लिमहरुले आफ्नो संस्कृतिलाई बिशेष मान्यता दिएर बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा लगाएर फलफूल वा अन्य मिठा परिकार खाएपछि अस्थाई मस्जिदमा भएपनि ईद मनाएको मुस्लिम समुदायका पेस इमाम (मुस्लिम अगुवाको पद) मौलाना अवदुल वकिल अमजदीले बताए । आफ्नो धर्म संस्कृतिलाई सर्वोपरि ठान्ने मुस्लिम समुदायहरु अछाममा थोरै संख्यामा भएपनि एक ठाँउमा जम्मा भएर ईद मनाएपछि आपसि सदभाव र खुसि साँट्दै रमाएका थिए । यस्तै अछामको बयालपाटामा पनि त्यहाँका स्थानिय रैथाने मुस्लीम समुदायले त्यहाँ स्थित मस्जिदमा ईद उल फित्र (ईद) भब्यरुपमा मनाएका छन ।