News & Events
अछामका ११ स्वास्थ्य संस्थाले पाए नयाँ अनमी
 
रेडियो जनप्रिय
अछाम २१ पुस 
जिल्ला स्वास्थ्य कार्यालय अछामले ११ जना नयाँ अनमीलाई गाँउ पठाएको छ । लोकसेवा आयोग क्षेत्रयि निर्देशनालय दिपायल वाट सिफारिस भएका ११ जना अनमीलाई ४ दिने तालिम दिएर गाँउका स्वास्थ्य संस्थाहरुमा पदस्थापन गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीका अनुसार जिल्लाका हिच्मा, पायल, बाटुलासैन, रानीवन, तोलि, लयाँटी, बिनायक, कालेकाँडा, जनालीवण्डाली, ढकारी र जुपूमा रहेका स्वास्थ्यचौकीले नयाँ अनमी पाएका हुन । चालु आर्थिक वर्षदेखी सबै उपस्वास्थ्यचौकीहरु स्वास्थ्यचौकीमा रुपान्तरण गरिएपनि त्यो अनुसारको दर्वन्दि ब्यावस्थापन गर्न नसकि स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको थिएन । स्वास्थ्य संस्थाहरुवाट सेवा लिन आँउने स्थानियलाई (बिशेषतः गर्भवती महिला र सुत्केरी आमाहरुलाई) नयाँ अनमीको आगमनले केही सहज हुने जनस्वास्थ्य अधिकृत अधिकारीले बताए । उनले भने “गाँउका स्वास्थ्य संस्थाले अनमी पाँउदा ग्रामिणका सुत्केरी आमाहरु र गर्भवती महिलालाई केही राहत मिल्नेछ, स्वास्थ्यचौकीले दिने सेवा प्रभावकारी भई र केही सुधार आँउने हाम्रो अपेक्षा छ ।” यसअगी सिधै पदस्थापन गरिने भएपनि यतिवेला कर्मचारीहरुलाई तालिम समेत प्रदान गरेर खटाईएकोले उनिहरुलाई पनि काम गर्न सजिलो हुने र थप उत्प्रेरण समेत मिल्ने अधिकारीले बताए ।
  पछिल्लो समय स्वास्थ्य संस्थामा आई सुरक्षीत प्रसुती सेवा लिने महिलाहरुको संख्या पनि बिस्तारै बढिरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन । जिल्लाको तथ्यंक अनुसार गत वर्षको भन्दा ५ प्रतिशतले बढेर यो वर्ष ५५ प्रतिशत महिलाहरुले सुरक्षीत रुपमा स्वास्थ्य संस्थामै प्रसुती सेवा लिएका छन । जनचेतनाको कमी, भौतीक पूर्वाधार अभाव र सामाजिक समस्या आदि कारणले अपेक्षा गरे अनुरुप सुधार आँउन नसकेको पनि जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा रहेका जम्मा ७२ स्वास्थ्यचौकी मध्ये ५५वटामा अनमी सहित बर्थिङ सेन्टर बाट प्रसुती सेवा प्रवाह भईरहेको छ भने १७ स्वास्थ्यचौकीमा अझैं बर्थिङ सेन्टर समेत स्थापना हुन सकेको छैन । जिल्ला अस्पताल अछाम र न्याय हेल्थ बयालपाटा अस्पतालवाट भने अप्रेसन सेवा सहितको प्रसुती सेवा प्रदान भईरहेको छ ।